हामीसँग वार्ता गर ः माओवादी पीडित
शाहीमान राई
रूपन्देहीका माओवादी पीडित विष्णु अधिकारीले गाउँबाट विस्थापित गराएर अलपत्र पार्ने माओवादीले तत्काल पीडितहरूसँग वार्ता गर्नुपर्ने बताए । उनले भने- ‘माओवादीले हामीसित वार्ता गर्नुपर्छ । अनि मात्र समस्या समाधान हुन्छ ।’ उनले सबै किसिमका सम्पत्ति तत्काल फिर्ता गर्नुपर्ने बताए । राजधानीमा बस्दै आएका अधिकांश पीडितको भनाइ यस्तै छ ।
‘गाउँ र्फकन आह्वान गरेर मात्र हुँदैन,’ दोलखाबाट विस्थापित ५४ वषर्ीय कुलबहादुर कार्कीले भने- ‘हाम्रो घर जग्गा, गाईबस्तु, भेंडा बाख्रा र चलअचल सम्पति सबै फिर्ता गर्नुपर्छ ।’ कार्की राजधानीमा रिक्सा चलाएर गुजारा गर्दै आएका छन् । ‘एक साता भयो रिक्सा तान्न सकेको छुइन्,’ उनी भन्छन्- ‘बिरामी भएपछि दुई छाक टार्ने मेलो छैन ।’
शान्ति वार्ताका एजेन्डामा विस्थापितहरूको मागलाई उपेक्षा गरिएको पीडितहरूको गुनासो छ । उनीहरूले यथाशीघ्र घर र्फकने वातावरण मिलाउन सरकारसित पनि माग गरेका छन् । विस्थापितलाई रोजगारीको अवसर, खाद्यान्न र आवासको अभाव रहेकाले राजधानीमा कष्टकर भोग्न बाध्य भएको रोल्पास्थित कुरेली गाविस-६ लिक्याङकी पुतली रोकामगरले बताइन् । ‘गाउँ फिर्नु कहिले हो ? यहाँ जीउनलाई कठिन भयो,’ उनले भनिन्- ‘ज्यामी गरेर परिवार पाल्दैछु ।’
सरकारले गाउँ र्फकने वातावरण नबनाइदिए विस्थापितहरूले आन्दोलन गर्ने बताए । ‘ससम्मान घर र्फकन पाउनुपर्छ,’ नुवाकोट भद्रटार-८ का डिल्लीबहादुर सुवेदीले भने- ‘माओवादीले हिंसा नत्यागेसम्म गाउँ जान सकिन्न ।’ माओवादीद्वारा विस्थापित रोल्पा, कालिकोट, रसुवा, रामेछाप, दोलखा, अछाम, भोजपुर, खोटाङलगायत जिल्लाबाट आएका पीडितले राजधानीमा आइतबार प्रदर्शन गरे ।
